प्रमुख खवर

दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

काठमाडौं । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो ।

गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाएका हुन् ।

भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गरे। उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौं उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताए । स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताए।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ। भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ। देवता वर्षमा झण्डै आधा-आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताए।

मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ, ऐतिहासिक महत्व सुनाउँदै प्रमुख सुवेदीले भने। ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ ।

रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौं र भक्तपुरवासीसँग पनि जोडिएको भए पनि अहिले काठमाडौंवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन्। किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउछन् ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौंवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ । मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । जंगलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने गरेको पानेजु हेम बर्जाचार्यले बताए।

परम्परालाई तोड्दै पछिल्लो जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ। घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...