चित्रकार बमजमको चित्रकला तथा वृत्तचित्र प्रदर्शनी

काठमाडौं । करुणा फाउण्डेसनको आयोजनामा अपांगता भएका व्यक्तीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी वृत्तचित्र शुभारम्भ तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । अति अशक्त अपाङ्गता भएका व्यक्तीको जीवनमा आधारित यस भिडियो वृत्तचित्रले अपाङ्गता भएका व्यक्तीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा तथा छलफल गर्न आधार तयार पार्ने फाउण्डेसनले विश्वास लिएको छ ।

कार्यक्रममा चित्रकार अमिर बमजमले बनाएका चित्रको प्रदर्शनी तथा बिक्री गरिएको छ । प्रदर्शनीमा १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका चित्र बिक्रीमा रहेका थिए भने, चित्रकला बिक्री भएको रकम बमजमलाई प्रदान गरिने छ । शुक्रबार मात्र ३ लाख रुपैयाँ बराबरको चित्रकला बिक्री भएको फाउण्डेसनका वित्त तथा प्रशासन प्रमुख दिनेश ढकालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालका प्रमुख नोना डेप्रोजले करुणा फाउण्डेसले गरेको कामको प्रशंसा गर्दै आफूलाई बोल्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले करुणा फाउण्डेसनले यस क्षेत्रमा गरेको काम देखेर खुसी लागेको र आफूले पनि साथ तथा सहयोग गर्ने बताइन् ।

त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी जमुना मिश्रले यस क्षेत्रमा रहेका समस्या समाधान गर्नतर्फ लाग्ने बताइन् ।
वृत्तचित्र निर्माता पुनम पौडेलले डकुमेन्ट्री बनाउदाँको अनुभव सुनाएकी थिइन् ।

चित्रकार बमजमले आफ्नो जीवनका विभिन्न घटना सुनाउदै फाउण्डेसनले आफूलाई गरेको सहयोग प्रति आभार व्यक्त गरे । आफ्नो घर परिवारको साथ र सहयोगले नै आफू सफल भएको उनको भनाई छ । बमजम चित्रकार मात्र नभई गायक पनि हुन् । कार्यक्रममा बमजम श्रीमती छोरी र परिवारसहित सहभागी थिए । अपांगता भएका व्यक्तीमा पनि यौन चाहना र प्रजनन क्षमता हुन्छ भन्ने कुरा अमिर र पुष्पाको जोडीले दिएको छ । छोरी जन्मिएपछि आफु निकै खुसी भएको अमिरले बताए ।

कार्यक्रममा करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले फाउण्डेसनका बारेमा जानकारी गराएका थिए भने, डा. उत्तम शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

You might also like
Comments
Loading...