जुम्लामा ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३ सय ३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए ।

कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४ सय ८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् ।

नगरभित्रका २५ हजार ९ सय ९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९ सय ७२, दोस्रो खोप ११ हजार ७ सय ९४ र बुस्टर खोप एक हजार २ सय २७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।

पातारासी गाउँपालिकामा पहिलो खोप नौ हजार ४ सय ६६, पूर्ण खोप सात हजार ३ सय १५ र बुस्टर १ सय ७३ जनाले लगाएका छन् । त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १ सय ७ र पूर्ण खोप चार हजार ४ सय ३६ जनाले लगाएका छन् । सिञ्जामा पहिलो खोप पाँच हजार ३ सय ५४ र पूर्ण खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५ सय २६, पूर्ण खोप चार हजार ६ सय ५७ र बुस्टर खोप ४ सय ७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४ सय ४१ र पूर्ण खोप चार हजार ६ सय १६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९ सय ५४ र पूर्ण खोप तीन हजार ५ सय ९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १ सय ९७ र पूर्ण खोप चार हजार ६० जना र बुस्टर १ सय ७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन् । परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन नमानेका हुन् । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोपकार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए ।

हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेपछि खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख बताउँछन् ।

You might also like
Comments
Loading...