अझै बनेन गागन खोला र कमला नदीको पुल

जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् ।

निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

गागन खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए । हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको झण्डै दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

पुल नहुँदा काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएको र डाईभर्सनसमेत बगाइएकोले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम बढेको छ ।

उनले भने,‘‘पुल नहँुदा कतिपयले जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरी दिनभरि समय खर्चिएर सदरमुकाम पुग्ने गर्छन् ।” करिब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवागमन कष्टकर बनेको छ ।

“पहिलेको खोलामा पानी बग्न छोडेको छ त्यहाँको सुख्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रैमहिना पानी बग्ने गरेको छ”, सिरहाको बरियारपट्टी गाउँपालिका- ३ का महेश यादवले भने, ‘‘ सुख्खायाम त केही सहज हुन्छ, तर बाढीको समयमा दुई महिनासम्म त झन त्यहाँका स्थानीयवासीलाई आवतजावत गर्न गार्‍हो हुन्छ ।” हुलाकी राजमार्गको औरही खण्डमा गागन खोलाले बनाएको ती दुई वटै खोला निकै महत्वपूर्ण रहेको स्थानीयवासीको अनुभव छ ।

सो खोलामा हीराचन रोशन कन्ट्रक्सन प्रालीमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् । “पुल निर्माणका लागि अहिलेसम्म पिलर मात्र ठ्याइएको छ”, औरही गाउँपालिका १ शिवनाथ यादवले भने, ‘‘कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँटकाँट देखिदैन् ।”

पुल निर्माणलाई गति दिन आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ ।सम्झौता अनुसार नै काम अघि बढाएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साइट इञ्चार्ज दानालाल यादवले बताए ।

“सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौँ”, इञ्चार्ज यादवले भने,“ वर्षा सुरु भएपछि काम रोकिएको हो, वर्षा रोकिएपछि कात्तिक महिनापछि काम पुनः सुरु गर्ने छौँ ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उनको कथन छ ।

यस्तै निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल एक वर्षमा पनि पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण कार्य सम्पन्न नहुँदै गत २०७८ असार ३१ आएको बाढीले भाँसिएको थियो ।

भासिएको पुल पुनःनिर्माण नहुँदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । ‘‘निर्माण कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुन सकेको छैन्” धनुषा कमला नगरपालिका–५ का सत्रुधन साहले भने, ‘‘पुलको पुनःनिर्माण काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेको छैन्, दुई पाङग्रे सवारी पनि जोखिमपूर्र्णरुपमा चलिरहेको छ ।” सुख्खायाममा जेनतेन दुई पाङग्रे सवारी चल्ने गरेपनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बाढीका कारण पहिला पूर्वतर्फको ‘स्पर’ भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । ‘‘भासिएकामध्ये पूर्वतर्फको स्पर भत्काएर त्यतिकै छाडिएको छ”, सिरहा नगरपालिका–११ का कमलेश यादवले भने,‘‘जसका कारण मोटरसाईकल डुङ्गाको सहारामा वारपार भइरहेको छ ।”

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा सो कम्पनिले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकेर बाहिरिएपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।

पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । तर हस्तान्तरण नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् । कमला नदीमा पुल निर्माण भएपछि खुसी भएका सो क्षेत्रका सर्वसाधारण पुल भासिएपछि भन्ने निराश बनेका छन् ।

‘‘वर्षौदेखि कष्टपूर्ण यात्रा गर्दै आएका थियौँ”, कमला नगरपालिका–५ दुर्गानन्द यादवले भन्नुभयो,‘‘ तर निर्माण सम्पन्न भएर हस्तान्तरण नहुँदै पुल भासिएपछि यतिबेला हाम्रो सपना चुँडिएको छ ।”

अब कहिले पुल बन्ला र सहज रुपमा यात्रा गर्ने हो भन्ने निश्चित नभएको उनको गुनासो छ । निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणको तयारी भइरहेका बेला कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग समेत उठ्दै आएको छ ।

डिजाइन गल्ती भएको र डिजाइन अनुसार काम नभएको भन्दै विभिन्न राजनीतिकर्मी, सघं संस्था र प्रदेश सरकारले छानविनको माग गरेका हुन् ।

You might also like
Comments
Loading...