मंकीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उनले मङ्कीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, सांसद भट्टराईले भने।

उनले काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए। काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उनले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गरे । सांसद् भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष माग गरे ।

त्यस्तै, सांसद खगराज अधिकारीले अमेरिकी स्टेट पार्टनर्ससिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर पत्र पठाइएको विषयबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद अञ्जना विशङ्खे, अम्रिता थापा मगरलगायतले अष्ट्रेलियामा भइरहेको आइपिएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधान सेनापतिलाई कसरी पठाइयो भनी प्रश्न गरिन् ।

You might also like
Comments
Loading...