बाढीपिडित भन्छन् : यो वर्षको दसैं दशा बनेर गयो
रञ्जिता अधिकारी, देउखुरी । लमही नगरपालिका-८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान थिए । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा संकलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उनलाई पीडा कति छ भन्ने कुरा उनका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो ।
घरभित्र रहेको कागजपत्र सबै पानीले फिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैंको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैं दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उनले भने, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ ।
लमही-७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताए । उनले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सकेका छैनन् ।
गढवा गाउँपालिका-२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताए । उनले गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो ।
राजपुर गाउँपालिका-६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताइन् । धानले भरिएको डेहरी (माटोको भकारी) फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताइन् । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ ।
नागरिक समाजको स्थलगत अनुगमन
बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अबौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत संकलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो ।
स्थानीय पालिका भन्छन्, तथ्याकं संकलन गर्दैछौं
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्यांक संकलनको काम भइरहेको बताइन् । प्रारम्भिक तथ्यांकमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दसैं मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्यांक संकलन हुँदैछ”, उनले भनिन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताए । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताए । धेरै ठाउँमा क्षति भएकाले संकलन गर्न समस्या भएको बताए । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्यांक संकलन गरिरहेको अध्यक्ष विष्टले बताए । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्यांक संकलनको कार्य जारी रहेकाले यो संख्या सक्ने उनले बताए ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत संकलनको काम भइरहेको बताए । उनले केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गरे । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताए । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्यांक रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताए । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताए । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उनले बताए । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताए ।
पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण संकलन भई नसकेको उनले बताए । प्रारम्भिक तथ्यांकमा ६ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् ।
तथ्यांक संकलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताए । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।
देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
कृषि शाखाले लगत लिने काम गरेका छन् : ज्ञान केन्द्र
पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताए । उनले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिए । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उनले भने, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।”
दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उनले बताए । ।
ताजा अपडेट
-
१.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
२.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
३.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
-
४.
इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी
-
५.
आज चैते दसैँ मनाइँदै
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




