परिवर्तन र विकासका लागि स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन आवश्यक छ : श्रमिक जि.सी.

पछिल्लो समय स्वतन्त्रप्रति जनताको क्रेज बढ्दै गएको छ। खासगरि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हासिल गरेको मत परिणामले स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको हो भने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्क साम्पाङले छोटो समयमै आफ्नो कार्यगत क्रियाशिलतामार्फत जनमानसमा पारेको सकारात्मक सन्देशले पनि जनतामा स्वतन्त्र तथा युवा उम्मेदवारको क्रेज बढ्दै गएको पाइन्छ ।

त्यसो त स्वतन्त्र नेतृत्वको यो क्रियाशिलताले जनमानसमा साच्चै एउटा सुचना प्रवाह नै गरेको छ, जुन दलगत स्वार्थभन्दा स्वतन्त्रहरु देश र जनताको सवालमा उदार बन्ने रहेछन् भन्ने नै हो । जसको लहर मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उल्लेख्य स्वतन्त्रहरुको पछिल्लो उम्मेदवारी घोषणा र सक्रियताले देखाई सकेको छ ।

यसपटक स्वतन्त्र उम्मेदवारीमा उठेका उम्मेदवारहरु नयाँ, सोच भिजनसहित चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार हुन् । जसको आश जनतामा पलाइसकेको छ । हुनत यस अघिका निर्वाचनहरुमा पनि स्वतन्त्रको आगमन नभएको भने होईन । तर, उनिहरुले तात्विक छाप छोड्न भने सकेका थिएनन् । यसपटक स्वतन्त्रले आफ्नो छाप जनतामाझ छाडिसकेका छन् ।

त्यसो त यसपटक जुरर्मुराएको स्वतन्त्र अस्तित्व आसा लाग्दो यस कारण पनि कि, दलहरुको स्वार्थ र अराजकताबाट आजित जनता कुनै न कुनै क्षेत्रमा दक्षता र निपुर्णता हासिल गरेका ब्यक्ति पहिचानमा छन् र सोहि अनुरुप स्वतन्त्रले उम्मेदवारी पनि दिएका छन् । चुनावकै सन्दर्भमा कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी युवा उम्मेदवार श्रमिक जि.सी.पनि स्वतन्त्र उम्मेदवार हुन् ।

उनले पनि दलहरुबाट आजित जनताहरुले अबको विकल्प स्वतन्त्र नै भएको बताइरहेको बताइन् । ‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी स्वतन्त्र उम्मेदवार जि.सी पनि पोखरेली जनतासँगको घरदैलोमा व्यस्त छन् । यसपटक परिवर्तनको पक्षमा देखिएका पोखरेली जनताले स्वतन्त्र र युवा उम्मेदवार नै आफूहरुको पहिलो प्राथमिकतामा परेको बताइरहेका छन् ।

मंगलबार पोखरा वडा नं. १६ बाटुलेचौरका जनतासँग भेटघाट तथा छलफल गरेकी जि.सी.ले सोमबार पोखरा वडा नं. ११ फूलबारीका मतदातासँग छलफल तथा भेटघाट गरेकी थिइन् । भेटघाटका क्रममा राम्रो नेतृत्व नहुँदा तथा सक्षम जनप्रतिनिधि पाउन नसक्दा आफूहरुले बजार क्षेत्रमा बसेर पनि विकासको अनुभूति समेत गर्न नपाएको मतदाताहरुले गुनासो गरेका छन् ।

दलका नेताहरुका एजेण्डाहरुमा मात्रै ‘सुखी नेपाली, समृद्धि नेपाल’ भन्ने रहेको तर, त्यो एजेण्डामै सिमित रहन गएको बताउँदै त्यहाँका जनताले पाँच वर्षको अवधिसम्म पनि नेताहरुले केही परिवर्तन गर्न नसकेको गुनासो गरे । स्वतन्त्र उम्मेदवारप्रति आफूहरुको विश्वास रहेको र मंसिर ४ को निर्वाचनमा आफूहरुले स्वतन्त्रलाई नै समर्थन गर्ने उनिहरुले बताएका छन् । जि.सी.ले आफू निस्वार्थ भावले जनताको सेवाका लागि चुनावी मैदानमा होमिएको दोहोर्‍याउँदै कसैको प्रलोभनमा नपरी निष्पक्ष भावले अबको भोट ‘लालटीन’ मा हाल्न आग्रह गरिन ।

You might also like
Comments
Loading...