मुख्य समाचार

गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने

काठमाडौँ। गुठी संस्थानले महाशिवरात्री पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्री पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यसवर्ष महाशिवरात्री फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडी गर्नुपर्ने कार्यहरुको तयारी पूरा गरेको गुठी संस्थानमा प्रवक्ता जनक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाशिवारात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ । संस्थानले महाशिवरात्री पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । प्रवक्ता पोखरेलकाअनुसार फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यलयमा जाने तयारी छ । सङ्कल्प सामग्रीमा राढी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूललगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ ।

फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रवन्ध मिलाइनेछ । मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिने उहाँले जानकारी दिनुभयो । सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिनेछ । यस दिन साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने उहाँले बताउनुभयो ।

फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङ्काका कार्ड वितरण गरिनेछ । सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गुठी संस्थानले महाशिवरात्री पर्व ५ दिनसम्म सञ्चालन गर्दछ । संस्थानको मुख्य काम परम्परा बमोजिम महाशिवरात्री पर्वमा आउने साधुसन्तको सेवा गर्नु हो । जसमा साधुसन्तका लागि धुनी जगाउन आवश्यक पर्ने दाउरा र परम्परा बमोजिमको भोजन उपलब्ध गराउने तथा दक्षिणासहित बिदाई गर्नु हो । महाशिवरात्री पर्वमा पशुपति क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर तथा अखडाहरुमा गुठी संस्थान, शाखा कार्यालय पशुपतिले र थापाथलीका विभिन्न अखडाहरुमा गुठी संस्थान, शाखा कार्यालय काठमाडौंले आवश्यक प्रवन्ध मिलाउने गर्दछ । गुठी संस्थान, प्रधान कार्यालयले समेत आवश्यक सहयोग एवं समन्वय गर्ने गर्दछ ।’

गुठी संस्थानले यस वर्ष महाशिवरात्री पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । गत वर्ष महाशिवरात्री पर्वमा २ हजार ३ सय ८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो । दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ । साथै करिव ५० हजार केजी दाउराको प्रबन्ध गरिएको थियो । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल

भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणलाई...

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग...

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौँ। नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं...

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

काठमाडौँ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै नेपालले निर्णय...