स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति खटिने

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गर्न लागेको हो ।

मतदान केन्द्रमा जनशक्ति परिचालनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ ।

निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।

आँबुखैरेनी गाउँपालिकामा कूल १३६, ऋषिङ गाउँपालिकामा २००, घिरिङ गाउँपालिकामा १३६, देवघाट गाउँपालिकामा ११९, बन्दीपुर गाउँपालिकामा १६८, भानु नगरपालिकामा ३९२, भिमाद नगरपालिकामा २४८, म्याग्दे गाउँपालिकामा १६०, व्यास नगरपालिकामा ४४७ र शुक्लागण्डकी नगरपालिकामा १८९ जनशक्ति परिचालन गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।

निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको ढकालले जानकारी दिनुभयो । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम गरिएको छ । यसैगरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपलिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २० र शुक्लागण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको छ ।

You might also like
Comments
Loading...