सोमवार, बैशाख २९, २०८२
English
Follow us:

समृद्ध गण्डकी प्रदेश बनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य : पोखरेल

समृद्ध गण्डकी प्रदेश बनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य : पोखरेल

  • खबर सेवा

  • शनिबार, असार ११, २०७९

  • 90
    SHARES
समृद्ध गण्डकी प्रदेश बनाउन निजी क्षेत्रको सहयोग अपरिहार्य : पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले विस्तारै लयमा फर्किन थालेको बताउँदै उनले सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहेको पनि बताए ।

‘मुलुकको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित छ । त्यो क्षेत्र जबसम्म जुर्मुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन् । त्यसैका लागि संविधानले जुन तिनखम्बे अर्थनीतिको परिकल्पना गरेको छ,’ उनले भने, ‘यदि यो तीनवटा खम्बाहरु मिलेर अगाडि बढ्न सक्दैनन् भने राष्ट्रिय रुपमा पनि प्रदेशमा पनि यो अगाडि बढ्ने सम्भावना छैन् ।’

त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले निजी क्षेत्रको सक्रिय संलग्नता बिना विकास सम्भव नभएको बताएका छन् । निजी क्षेत्रलाई अगाडि बढ्नाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले बताए । प्रदेश सरकाले बनाएका नीति नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवर्द्धनको लागि भएको बताए ।

त्यस्तै, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लगानीमत्री वातावरण बनाउने दायित्व सरकारको भए पनि त्यो हुन नसकेको बताएका छन् । उनले पोखरा महानगरपालिका र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको पनि बताए ।

जुन उद्देश्यका साथ संघीयता, प्रादेशिक र स्थानीय तह रहने गरि राज्यको पुर्नसंरचना गरिएको थियो तर, काम भने त्यसको विपरित भएको बताए । संघ, प्रदेश र स्थानीय तह क्षेत्राधिकारको विषयमै अल्झिरहेको उनले बताए । स्थानीय स्तरमा रहेका स्रोत र साधनहरुको पनि सही उपयोग गर्न नसकिएको उनले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का गण्डकी अध्यक्ष जगत पोखरेलले सबै समृद्धि बन्नका लागि सबैभन्दा पहिला सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन् । सकारात्मक सोचले नै समृद्ध बनाउने बताउँदै उनले त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर विकासका काममा अगाडि बढ्नु पर्ने बताए ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताएका छन् । हरेक कार्य गर्ने शैलीमा समेत राजनीति हस्तक्षेप भएको उनले आरोप लगाए । व्यक्तिको क्षमताको आधारमा नभइ राजनीतिक पार्टी हेरेर व्यक्तिलाई माथि पुर्‍याउने परिपाटीले समस्या उत्पन्न भएको उनको भनाई छ । सरकारले बनाएको प्रोटोकलका कारण पर्यटकलाई आउन समस्या भएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारसंग मिलेर काम गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा अटो पत्रकार संघका अध्यक्ष उज्जवलजंग शाह, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य माइकल कर्माचार्य, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का योगेन्द्रबहादुर केसी, पोखरा उद्योग वाणिज्य संघ कार्यसमितिका सदस्य शोभा गौतम, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का, व्यवसायी हरिराज पन्त, पर्यटन व्यवसायी हरि शर्मा गैरेलगायतकाले सुझावसहितका धारणा राखेका थिए ।

कार्यक्रमको सहजिकरण पत्रकार वासुदेव मिश्रले गरेका थिए । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघ र पोखरा पर्यटन परिषद्को सहकार्यमा सम्पन्न भएको हो । आर्थिक आवाज र वेद व्यास क्रियसनको आयोजनामा भएको कार्यक्रमको मुख्य प्रायोजकमा केसी ग्रुप, सपोर्टेट बाइमा सेती रिभर हाइड्रो प्रा.लि. रहेका छन् ।

पाटनर्समा नविल बैंक, मुक्तिनाथ विकास बैंक र पोखरा फाइनान्स रहेका थिए । मीडिया पाटनर्समा अन्नपूर्ण एमएम, पोखरा टेलिभिजनरहेका थिए । कार्यक्रममा आर्थिक मिडिया प्रा.लिका अध्यक्ष सुरेन्द्र पौडेलले धन्यवाद ज्ञापन र वेद ब्यास क्रिएसनका अध्यक्ष पवन पौडेलले स्वागत गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology