
काठमाडौं। अन्जन विष्टको उत्कृष्ट प्रदर्शनका बाबजुत न्यू रोड टिम (एनआरटी) सभापति कप २०८१ को अन्तिम चारमा पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको फ्रेन्डससँगको खेलमा अञ्जानले दुई गोल र रिचार्ड विल्सनले १ गोल गर्दा एनआरटी सेमिफाइनल पुगेको हो।
अन्जनले खेलको २३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए। एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। अन्जलले उत्कृष्ट फिनिस निकाल्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटमै एवं पहिलो हाफमै अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। विदेशी खेलाडी कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत जाली चुमाएका थिए।
दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले व्यक्तिगत पहिलो गोल गर्दै एनआरटीलाई वलियो बनाए। उनले पेनाल्टी क्षेत्रबाट फार पोस्टमा सुन्दर फिनिस गरेका थिए।६५ औ मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुको हेडर फ्रेन्डसका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे। लगत्तै अभिषेकले एन्जल र रिचार्डको लगातार प्रहारलाई विफल पारे।
८१ औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाएर बायाँ खुट्टाले फिनिस गरे। प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले साँझ ५स्३० बजे खेल्नेछन्। दोस्रो सेमिफाइनल मंगलबार आयोजकको बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ। फाइनल विहीबार हुनेछ।