
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजतन्त्र नफर्किने भन्दै दलभित्रको राजतन्त्र भने अन्त्य गर्नुपर्ने बताएका छन्। संसदमा विशेष समयमा बोल्दै उनले दलहरूभित्र झाँगिदै गएको राजतन्त्र अन्त्य हुनुपर्ने माग गरेका हुन्।
‘मलाई राजतन्त्र फर्किन्छ भन्ने डर छैन तर हामीभित्रको कमजोरी सच्चाएर अघि बढ्न सक्छौँ वा सक्दैनौँ भन्ने डर छ,’ उनले भने ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँदै उनले दलहरूले कमीकजोरी सच्याउन केन्द्रित हुनुपर्ने बताए । ‘नयाँ पुस्ताको सोच र हाम्रो आवश्यकता अनुसार अघि बढ्न नसक्दा निराशा छाएको छ । यी निराशा चिर्नैपर्छ,’ उनले भने ।
दलहरूकै कारण जनतामा निरासा उत्पन्न भएकाले अब सच्चिन ढिला गर्न नहुने उनले बताए । ‘संविधान निर्माणपछि त्यसको कार्यान्वयनतिर आर्थिक विकासतिर दत्तचित्त भएर लाग्नुपर्थ्यो। यसप्रति भन्दा पनि पार्टीका नेताहरू सत्ताको खिँचातानी एकअर्काप्रति गालीगलौज लाञ्छना लगाउने र अवसर आउँदा अप्राकृतिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यास र संस्कारमा समस्या आएको हो,’ उनले भने ।
गणतन्त्रपछि मुलुकमा पूर्वाधार निर्माण र मानव सुचाङ्कका हिसाबले धेरै प्रगति भएपनि ती कुरा जनतामा स्थापित गर्न नसकिकएको उनले बताए । प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो बनाउने भन्दा पनि केन्द्रीकृत चिन्त सहित ती संरचनालाई कमजोर बनाउँदा नागरिकामा निराशा थपिएको उनको भनाइ छ।
‘प्रशासनिक संरचना नागरिकलाई सेवा प्रवाह गर्ने भन्दा पनि जनतालाई सताउने खालका छन्। शिक्षा, रोजगारी सिर्जना तथा सुशासनमा धेरै काम गर्न बाँकी छ,’ उनले भने।
दलहरूले आफुलाई सच्याउँदै व्यवस्थालाई सुदृढ बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।