सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव

काठमाडौं । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् ।

सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन् ।

सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको छ ।

उनले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी-बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ ।

पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ ।

बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।

सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको जानकारी दिए । थारू समुदायमा स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका ९०० बिरामीले भेरी अस्पतालबाट औषधि सेवन गरिरहेको डा पाण्डेले जानकारी दिए ।

पश्चिम नेपालका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि सेवन गरिरहेको उनले बताए । डा पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उल्लेख गरे ।

You might also like
Comments
Loading...