प्रमुख खवर

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् ।

वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताए ।

“सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?”, उनले भने, “वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।”

उनले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे । उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताए ।

उनले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएको योगदानको उच्च कदर गर्दैै भविष्यमा पनि अझ सशक्त ढंगले स्वास्थ्योपचारलगायतका सेवा पुर्‍याउनुपर्ने बताए । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उनले आग्रह गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सेवामूलक बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तह र प्रदेश तहमा स्वास्थ्य सेवालाई राम्रो बनाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भनाइ राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले स्वास्थ्य क्षेत्रको सूचकमा प्रगति देखिए पनि जनताले अझै स्वास्थ्य सेवाको पहुँच राम्रोसँग पाउन नसकेको बताए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चाँडै नै सभा बोलाएर प्रशासनिक र कानुनी अड्चन फुकाउने बताए ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले अस्पतालले कोभिड–१९ महामारीका बेला खेलेको भूमिकाको सराहना व्यक्त गर्दै अस्पतालले अझै स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पतालले गुणस्तरीय र विशिष्टकृत सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले अस्पतालले नागरिकको जीवनलाई स्वस्थ बनाउन अझै गुणस्तरीय र भरपर्दो चिकित्सकीय सेवा प्रदान गर्नुपर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले अस्पतालको बजेट बढाउनुपर्नेमा जोड दिँदै अस्पतालको सामान्य परिस्थिति सिर्जना गरेमा अझ सेवा राम्रो बनाउन सकिने धारणा राखे ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा डा भूपेन्द्रकुमार बस्नेतले एक वर्षमा चार लाख ३३ हजार १०८ बिरामीको उपचार गरेको जानकारी दिए । उनले देशभरिका बिरामीलाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराएको बताए ।

उनले कोभिड-१९ को महामारीमा अस्पतालले बिरामीको उपचारमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै बिरामीलाई गुणस्तरीय र सर्वसुलभ उपचार प्रदान गरेको बताए । विसं १८४३ साउन १२ गते १५ शय्याबाट स्थापना भएको अस्पताल अहिले ४६० शय्याबाट सेवा र ९६० शय्याबाट सेवा प्रवाह गर्ने क्षमता रहेको छ ।

नेपालमा पहिलोपटक मुटुको सफल शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र सघन उपचार सेवा (आइसीयू)को वीर अस्पतालबाट सुरु भएको हो । सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको स्थापना भई ड्रेसर, कम्पाउण्डर र नर्सिङ शिक्षाको सुरुआत गरिएको हो ।

विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति भई स्वास्थ्य सेवा अस्पतालले प्रदान गरिरहेको छ । अहिले छवटा भवनमा ४२ आकस्मिक कक्ष, ६८ आइसीयू, ५० हाइडिपिडेन्स युनिट (एचडीयु) र १० सिसीयूकक्षसहित विभिन्न ३२ बहिरंग सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानका रजिष्ट्रार प्रमिला देवानले जानकारी दिए ।

सम्बन्धित समाचार

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...