शनिबार, पुस ६, २०८१
English
Follow us:

म्याग्दीको रघुगङ्गाका केही बस्ती पहिराको जोखिममा

म्याग्दीको रघुगङ्गाका केही बस्ती पहिराको जोखिममा

  • खबर सेवा

  • बुधबार, असार ८, २०७९

  • 4
    SHARES

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् ।

रघुगङ्गाका रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौर लगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका उनले बताए ।

कार्कीले भने, “बर्खा सुरु भएपछि बाढी र पहिराका कारण सधैँ त्रसित र भयभित रहने यहाँका बासिन्दा रातमा राम्रोसँग निदाउन पनि नपाउने समस्या छ, गाउँपालिका सधैँ आश्वासन बाँड्छ काम गर्दैन, जनताहरू समस्या सम्झेर निदाउन छोडिसके ।”

यसैगरी ५२ घर रहेको रघुगङ्गा-८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिराको त्रासकै कारण आधा जतिले घर छाडेर बेनी, पोखरा, काठमाडौँ लगायतका ठाउँमा गएर बसेका छन् ।

गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा सामुदायिक भवन र एउटा घर भत्केका पूर्ववडाध्यक्ष गमान छन्त्यालले बताए ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिराले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।

यस्तै रघुगङ्गा–३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिराले पुरिने जोखिममा छ । गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिराले पुरिने जोखिम बढेको हो ।

बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिका ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए ।

बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल तथा नाली समयममा नबन्दा पूरै पाखो खस्न थालेको छ । यहाँका कतिपय बासिन्दा घर छाडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

दुई वर्षअघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

बर्सातसँगै आउने बाढीले बाटो बन्द हुँदा खाद्यान्न लगायतका सामग्री भरिया लगाएर लग्नुपर्दा गाउँमा खाद्यान्न सामान महँगो हुँदै गएको छ । बिरामी बोेकेर आएका एम्बुलेन्स तथा सवारीसाधन भासिने गर्दै आएका छन् ।

सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा छ ।

बेनीदेखि उत्तरी क्षेत्रको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको सिधा यातायातलाई बगिरहने पहिराले अवरोध बनाउँदै आएको छ । निर्माण व्यवसायीको लापरबाहीले उत्तरी भेगका जनताले सास्ती खेप्नुपरेको छ ।

यसैगरी रघुगङ्गा-३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् ।

गलेश्वर-भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो ।

चुडीस्वाँरामा दुई वर्षअघि सम्म गाडी गुड्ने सडक थियो । त्यहाँ अहिले त्यसको कुनै नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयवासीले बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology