काठमाडौँ। चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो अपडेटअनुसार भूकम्पबाट १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ। साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका हुन्।