बिहिबार, पुस २५, २०८१
English
Follow us:

आशालाग्दो स्वास्थ्य बिमा: निराशाजनक कार्यान्वयन

आशालाग्दो स्वास्थ्य बिमा: निराशाजनक कार्यान्वयन

  • खबर सेवा

  • बुधबार, पुस २४, २०८१

  • 6
    SHARES
आशालाग्दो स्वास्थ्य बिमा: निराशाजनक कार्यान्वयन

नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई सस्तो र सुलभ उपचार हुने आशा जगाएको थियो । तर अहिले अस्पतालहरूले स्वास्थ्य बिमाबाट उपचार गराएको रकम स्वास्थ्य बिमा बोर्डले समयमै भुक्तानी नगर्दा, कतिपय अस्पतालहरूले बिमाको उपचार नै बन्द गरिसकेका छन्। जसका कारण स्वास्थ्य बिमा गराएका बिमितहरू समस्यामा परेका हुन् । 

नेपालका प्रमुख अस्पतालहरूले स्वास्थ्य बिमा बोर्डबाट समयमा भुक्तानी नपाउँदा, बिमाका बिरामीको उपचार बन्द गर्न थालेका छन्।

शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर जस्ता प्रतिष्ठित अस्पतालहरूले अहिले बिमा मार्फत उपचार गर्न समस्या देखाइरहेका छन्।

शिक्षण अस्पतालमा, ओपीडी र इमरजेन्सीका बिरामी मात्र बिमामार्फत उपचार गराइरहेका छन् ।

अस्पतालमा भर्ना गरिएका बिरामीहरूलाई भने बिमाको माध्यमबाट उपचार गरिएको छैन ।

ओपिडीबाट उपचार गराउन पनि टोकन सिस्टम खारेज गरिदिएको छ।

यसरी टोकन नदिएर लामो समय लाइन कुराउनु पनि अस्पतालमा कम बिरामी आउन भन्ने रहेको प्रष्ट हुन्छ ।  वीर अस्पतालले भने स्वास्थ्य बिमा मार्फत सबै उपचार दिइरहेको छ ।

३ वर्ष अगाडि दैनिक करिब १८०० बिरामी आउने गरेकोमा हाल दैनिक ३ हजार भन्दा बढी बिरामी उपचारको लागि बीर अस्पताल पुग्छन् ।

ती मध्ये करिब ४५ प्रतिशत बिरामी स्वास्थ्य बिमा मार्फत आउने गरेको अस्पतालले जनाएको छ । जिल्ला जिल्लाबाट बिमाका बिरामी रिफर भएर आउँदा अस्पतालको कार्यभार थपिएको छ ।

बिरामी थपिँदा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएको छ । वीर अस्पतालको पनि बिमा मार्फत भुक्तानी भने भएको छैन । तरपनि स्वास्थ्य बिमा प्रणालीको समस्याले बिमित नागरिकहरूलाई समस्या भएको भन्दै उपचार भने दिइरहेको अस्पतालले जनाएको छ ।

यी अस्पतालहरू मात्र होइन । स्वास्थ्य बिमा बोर्डमा दर्ता भएका सबै सेवा प्रदायक अस्पतालहरूको गएको चैत महिनादेखिको रकम भुक्तानी भएको छैन ।

भुक्तानी नभएका कारण बिमा मार्फत सेवा लिने बिरामीहरूको उपचारमा समस्या भएको छ।  स्वास्थ्य बिमा बोर्डका अनुसार अस्पतालहरूले बोर्डले बनाएको सुविधाथैली अनुसार उपचार गराउन नसक्ने भएकोले रकम थप गर्न माग गरेका छन् । बोर्डले पाँच वर्षको सम्झौता सेवा प्रदायकसँग गरेको हुन्छ ।

यस बर्ष स्वास्थ्य सेवाका लागि राज्यबाट ७ अर्ब ५० करोड रुपियाँको अनुदान आएको र स्वास्थ्य बिमा बोर्डले वर्षमा करीब ३ अर्ब रुपियाँ सङ्कलन गर्ने भएपनि पूर्ण रकम कोषमा जम्मा हुन नसकेको जनाएको छ ।

बोर्डले तयारी गरेको सुविधाथैलीमा भएका केही दरहरूलाई पुन संशोधन गर्ने कुरा पनि बिचाराधीन छन् । रकमको विषयमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गर्दै समस्याको समाधान खोज्ने प्रयासमा रहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा योजना नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउने प्रमुख उपायको रूपमा हेरिएको छ । ७७ जिल्लामै गरी करिब ८६ लाखले स्वास्थ्य बिमा गराएका छन् ।

ती मध्ये ६२ प्रतिशतले मात्र यसपटक बिमा नविकरण गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology